बाँकेमा कोभिड–१९ विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन सुरु

नेपालगञ्ज : बाँकेमा कोभिड–१९ विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन आइतबारदेखि औपचारिक रुपमा शुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

कार्यालय प्रमुख अंगदबहादुर शाहीले दिएको जानकारी अनुसार भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्ज र कोहलपुर नगर अस्पतालमा खोप उपलब्ध गराइने छ । यस खोप अभियानले कोभिड–१९ को रोकथाममा ठुलो योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले नगरभित्रका पन्ध्र वडामा खोप कार्यक्रम राखिएको जानकारी दिए । अन्य पालिकाहरूमा पनि खोप अभियान सञ्चालन गरिने तयारी गरिएको छ ।

असोज ४ गतेसम्म खोप कार्यक्रम जारी रहने छ । १२ वर्ष माथिका नागरिकहरूलाई बुस्टर डोजको रुपमा यो खोप लगाउन सकिने छ । बाँके जिल्लामा फाइजर बाइभ्यालेन्ट खोपको ३० हजार डोज प्राप्त भएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए । यद्यपि, लक्षित समूहको तुलनामा खोपको मात्रा कम भए पनि यसलाई प्रभावकारी ढंगले व्यवस्थापन गरेर नागरिकहरूलाई लगाइने योजना रहेको छ ।

स्वास्थ्यकर्मीहरूका अनुसार यो खोप कोरोना भाइरसको नयाँ भेरियन्टहरुसँग लड्न प्रभावकारी रहेको छ । बाँकेमा गत वर्ष १९ जनामा कोभिड संक्रमण देखिएको थियो भने भेरी अस्पतालमा अहिले पनि कोभिडका बिरामी देखापर्ने गरेका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया