भेरी अस्पताल नेपालगञ्जमा एमडी र एमएस पढाईको बाटो खुल्यो

नेपालगञ्ज : लामो समयको अथक प्रयासपछि भेरी अस्पताल नेपालगञ्जमा एमडी र एमएस पढाई हुने बाटो खुलेको छ । पश्चिम नेपालको रेफरल अस्पतालका रुपमा रहेको भेरीमा सो बाटो खुलेको हो । शुक्रबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र भेरी अस्पतालबिच भएको सम्झौतासँगै पढाइका लागि बाटो खुलेको हो ।

प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. भुपेन्द्र बस्नेत र भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. निराजन सवेदीबिच काठमाडौँमा सम्झौता भएको हो । सम्झौता पश्चात् न्याम्सको आगामी साता बस्न लागेको सिनेट बैठकमा सो प्रस्ताव पेश हुने र सोही बैठकबाट पारित गर्ने तयारी छ ।

‘न्याम्स र भेरी अस्पतालबिच औपचारिक रुपमा सम्झौता भयो, यसले भेरीमा एमडी र एमएस पढाई हुने बाटो खुलेको छ,’ प्रमुख मेसु सुवेदीले भने ‘आगामी साता बस्न लागेको न्याम्सको सिनेट बैठकले पास गरेपछि कुन–कुन फ्याकेल्टीको पढाई सञ्चालन गर्ने भन्ने कुराको निश्चित हुने छ ।’

एमडी र एमएस विषयको अध्ययन सुरु भएपछि भेरी अस्पतालको सेवा प्रवाह अझ राम्रो हुने प्रमुख मेसु सुवेदीले भने । ‘अस्पतालमा अब उपचार सेवासँगै शैक्षिक गतिविधि पनि बढ्ने भएकाले स्वभाविक रूपले यसकोस्तर ह्वात्तै माथि उठ्छ,’ डा. सुवेदीले भने ।

भेरी अस्पतालमा वर्षौँअघिदेखि एमडी र एमएस विषयको पढाई सञ्चालन गर्ने प्रयास भएपनि सार्थकता पाउन सकेको थिएन । उक्त विषयको पढाई सञ्चालन गर्न स्वीकृति दिएपछि न्याम्सले विभिन्न मापदण्ड निर्धारण गर्नेछ ।

भेरी अस्पतालमा मेडिसिन, सर्जरी, अर्थोपेडिक, गाईनोक्लोजिष्ट, पिडियाट्रिक, एनेस्थोलोजिष्ट, रेडियोलोजी, इएनटी र एमडिजिपीमा एमडी र एमएस विषयको पढाई सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । पढाई सञ्चालनमा आएपछि भेरी अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आङ्गिक अस्पतालका रुपमा रहनेछ । सङ्घीय सरकारको मातहतमा रहेको अस्पतालमा साबिक मध्य र सुदूरपश्चिम क्षेत्रका २४ जिल्लाका बिरामी उपचारका लागि आउँछन् ।

सम्झौताका क्रममा न्याम्सका शिक्षा अध्यक्ष प्रा.डा. लोचन कार्की, डिन डा. अशिष ढुंगाना, सहायक डिन डा. विकास विक्रम अधिकारी र डा. राजेन्द्र श्रेष्ठ लगायत उपस्थित थिए ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया