गङ्गालाल हृदयरोग केन्द्रले सबै प्रदेशमा मुटुरोग उपचार सेवा विस्तार गर्ने

काठमाडौ : शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले सबै प्रदेशमा मुटुरोग उपचारका लागि संयन्त्र विस्तार गर्ने भएको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको सञ्चालक समिति बैठकले सङ्घीय राजधानी काठमाडौँबाट उपलब्ध मुटुरोग उपचार सेवा सबै प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो ।

मन्त्रालयको योजनानुसार मुटुरोग उपचार सेवा विस्तार गर्ने निर्णय गर्दै यसका लागि आवश्यक प्रक्रियाअघि बढाउन निर्देशन दिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा अब केन्द्रले बागमतीबाहेक थप ६ प्रदेशमा सेवा विस्तारको काम अघि बढाइने छ ।

सबै प्रदेशमा प्रादेशिक अस्पतालमार्फत विशिष्टीकृत उपचार विस्तार गर्ने योजनाअन्तर्गत क्यान्सर रोगको उपचार सुरु भैसकेको जानकारी दिदै मन्त्री पौडेलले केन्द्रमार्फत मुटुरोगको उपचारका लागि प्रदेशस्तरमा संयन्त्र विस्तार गर्ने निर्णय भएको बताए ।

उनले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकताअनुसार प्रादेशिक अस्पतालहरूमार्फत विशिष्टीकृत उपचार सेवा विस्तार गर्न लागिएको स्पष्ट पारे ।




फेसबुकबाट तपाईको प्रतिक्रिया