फागुन महिनाभर पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने

नेपालगञ्ज :  सरकारले आगामी फागुन महिनाभर पाठेघरको मुखको क्यान्सर रोकथामका लागि परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका दुई लाख ५० हजार महिलामा पाठेघरको मुखको क्यान्सर परीक्षण तथा रोग पहिचान गर्ने भएको हो ।

महाशाखा प्रमुख डा.विवेककुमार लालले फागुन महिनाभर देशैभर एकै साथ महिलाहरुमा क्यान्सरसम्बन्धी परीक्षण गर्न लागिएको जानकारी दिदै भने–‘क्यान्सरको उपचारसँगसँगै रोग लाग्न नदिन समयमै परीक्षण गरी रोकथाम गर्ने प्राथमिकता छ । त्यसै अनुसार यस वर्ष अभियानकै रुपमा एकै साथ परीक्षण गर्ने योजना बनाएका छौँ ।’

उनका अनुसार महाशाखाले यस वर्ष अभियानका रुपमा दुई लाख ५० हजार महिलाको परीक्षण गर्ने लक्ष्य लिएको छ । नेपालमा सन् २०२२ मा कूल मृत्यु भएका १४ हजारमध्ये पाठेघरको मुखको क्यान्सरबाट ज्यान जानेको सङ्ख्या सात हजार ७ सय ६८ रहेको ग्लोबल क्यान्सर अब्र्जभेटरीको तथ्याङकमा उल्लेख छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२२ मा मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका दुई हजार १६९ तथा स्तनसम्बन्धी दुई हजार दुई सय ५५ नयाँ बिरामी पत्ता लागेका थिए ।

हाल नेपालमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ । तर, समयमै परीक्षणबाट समस्या पहिचान भएमा रोग निको हुने चिकित्सक बताउछन् ।

मन्त्रालयले विश्व क्यान्सर दिवसको अवसर पारेर (माघ २२ गते) बाट दुई सातासम्म १६ लाख ८८ हजार नौ सय किशोरीलाई लक्षित गर्दै पाठेघरको क्यान्सरविरुद्धको निःशुल्क खोप अभियानसमेत सञ्चालन गर्दैछ । आगामी वर्षबाट देशभरका सबै किशोरीले नियमित रुपमा खोप लगाउन पाउने गरी व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया