हेमोफेलियाका विरामीको उपचार अब भेरी अस्पतालबाटै

नेपालगञ्ज :  भेरी अस्पताल नेपालगञ्जले आउने आईतबारदेखि हेमोफेलियाका बिरामीका लागि अस्पतालमा नयाँ सेवा थप गर्ने भएको छ ।

अस्पतालका मेडिकल विभाग प्रमुख तथा प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले भेरी अस्पताल नेपालगञ्जबाट आगामी आइतबार मंसिर १६ गतेदेखि हेमोफेलियाका विरामीका लागि आवश्यक पर्ने ‘फ्याक्टर–८ र फ्याक्टर–९’ निशुल्क रुपमा पाउने व्यवस्था मिलाईएको बताए ।

उनले हेल्थईरासंग कुरा गर्दै भने–‘हेमोफेलियाका विरामीका लागि आवश्यक पर्ने फ्याक्टर–८ र ९ नेपालगञ्जको भेरी अस्पतालबाटै पाईने भएपछि विरामीलाई सहज हुने भएको छ । काठमाण्डौमा मात्रै पाईने यो सुविधा निशुल्क भए पनि आउने जाने समय र अन्य खर्च विरामीको जोगिने भएको छ ।’

भेरी अस्पतालमा यो सेवा सुरु भएसंगै पश्चिम नेपालका हेमोफेलियाका विरामीका लागि सुविधा पुग्ने बताईएको छ । ‘यति नै संख्यामा विरामी छन भन्ने यकिन छैन । पहिला फ्याक्टरको अभावका कारण आपतकालिन अवस्थामा मात्र विरामी आउथे तर अब भने नियमित उपचार हुने भयो’– उनले भने ।

उनले विश्व हेमोफेलिया महासंघ (डब्लुएफएच), नेपाल हेमोफेलिया सोसाईटी, प्रा. डा विषेश पौडेल र भेरी अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा. निराजन सुवेदीलगायतको पहलमा सो सेवा सुरु हुन लागेको हो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया