नसर्ने रोगबिरुद्ध खजुरा गाउपालिकामा योग शिविर

खजुरा (बाँके)  :  बाँकेको खजुरा गाउँपालिकाबाट नसर्ने प्राणघातक रोगको उपचारको लागि सिफारिस र आर्थिक सहयोगको लागि दैनिक जसो सेवाग्राही पालिका आउन थाले पछि यसको विकल्पको रुपमा योग शिविर सञ्चालन गर्न थालेको छ ।

पालिकाले नसर्ने तथा प्राणघातक रोगको उपचारको लागि अवस्था हेरेर आर्थिक सहयोग तथा सिफारिस दिने भएकोले पनि दैनिक जसो यस्तो उपचारको याचनासहित सेवाग्राही पालिका आउने गरेको जनस्वास्थ्य अधिकृत दिपक ढकालले जानकारी दिए ।

खजुरा गाउपालिकालको तथ्याङ्क अनुसार आव २०८०।०८१ मा १ सय ८ जनाले क्यान्सर, मृगौला डाईलासिस तथा मुटुको रोग जस्ता दिर्घरोगको उपचार सुबिधाको लागि सिफारीस लिएका छन् । खानपान तथा दैनिक आचरणको कारण पछिल्लो समयमा मानिसहरुमा नसर्नेरोगको समस्या भयावह रुपमा देखापरेको छ ।

यसैगरी चालु आवको जेठ अन्त्यसम्ममा सयजना भन्दा बढिले यसै सेवाको लागि निबेदन दिएको तथ्याङ्क छ । पालिकाले यस्ता रोगबाट आफ्ना नागरिकलाई जोगाउने उद्देश्यले योग समिति नेपालसंगको सहकार्यमा सबै वडाको टोल टोलमा योग शिविर सञ्चालन गर्दै आएको जनस्वास्थ्य अधिकृत ढकालले जानकारी दिए ।

उनले भने–‘पालिकामा नसर्ने रोगको उपचारको सिफारिस लिन आउनेको अधिक चाप छ । त्यो चापलाई न्यूनिकरण गर्नको लागि विहानको समयलाई योग र प्रणायमा खर्चदा रोगबाट पनि मुक्त हुने र निरोगी भएपछि सबैकुरा आफै मिल्दै आउने भएपछि पालिकाले टोलटोलमा योग शिविर सञ्चालन गरेको हो ।’

जोर्नी दुख्ने समस्याले ग्रशित खजुरा–२ की ७७ वर्षिया गौरी गिरीले योग शिविरमा आएपछि आफु हिडडुल गर्न सक्ने भएकी बताईन । उनले भनिन–‘मैले विहानको समय योगमा आउन सुरु गरेको केही दिन भयो पहिला मलाई हिडडुल गर्न पनि कठिन थियो तर, अहिले हिडेरै योग केन्द्र आउन सक्ने भएकी छु । खाना पनि रुचेको छ । निद्रापनि राम्रै लागेको छ ।’

योग शिविर मै भेटिएकी खजुरा–१ की ७९ वर्षिया बसन्ता थापा क्षेत्री पनि पालिकाले सञ्चालन गरेको योग शिविरमा नियमित आउन थालेकी छन् । शरिर दुख्ने शरिर भारी हुने समस्या आफुमा भएको र योगमा आउन थालेपछि आफ्ना समस्या क्रमिक रुपले समाधान हुँदै आएको जस्तै अनुभव भएको बताईन ।

खजुरा गाउपालिका–१ का वडा अध्यक्ष मनविर क्षेत्रीले पालिकाले नसने रोगको बोरमा जनचेतना फैलाउने उद्देश्यले योग शिरविर सञ्चालन गरेको बताए ।

उनले भने–‘ नसर्ने रोगको उपचार सिफारिस दिनुभन्दा नागरिकलाई निरोगी बनाउनु नै उत्तम लागेर टोलटोलमा योग शिविर सञ्चालन गरिएको छ । नागरिकहरु पनि खुशी हुँदै सहभागि हुनु भएको छ ।’




फेसबुकबाट तपाईको प्रतिक्रिया