खजुरा (बाँके) : बाँकेको खजुरा गाउपालिका वडानं. ४ मा योग केन्द्र सञ्चालनमा ल्याईएको छ । योग समिति नेपालको ३६ औं योग केन्द्रको रुपमा शनिबार उद्घाटन गरिएको हो ।
‘स्वास्थ्य नै धन हो शान्ति नै शक्ति हो तसर्थ आउनुहोस् मानव जाति हामी सबै मिलेर योग गरौं स्वस्थ सबल नेपालको निर्माण गरौं भन्ने मुल नाराका साथ स्थापना गरिएको योग केन्द्रको खजुरा गाउपालिकाका अध्यक्ष डम्बर बिक तुफानले उद्घाटन गरेका हुन ।
सो अवसरमा गाउपालिका अध्यक्ष तुफानले खजुरा गाउँपालिकाले योग समिति नेपालले चालेको अभियानलाई पहिलो रोजाइको रूपमा लिएको बताए । उनले पालिकाको हरेक कार्यक्रम योग समिति नेपालसँग समन्वय गर्दै अघि बढ्ने र सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
खजुरा गाउपालिका वडा नम्बर ४ का अध्यक्ष टेकबहादुर बुढा मगरले योगगुरु आयुर्वेदाचार्य गिरिराज पौडेलको प्रेरणादायी मार्गदर्शन र योग प्रशिक्षकहरूको बाक्लो उपस्थितिमा सामुहिक योग अभ्यास तथा ध्यान गरि वडावासीलाई योगका माध्यामबाट निरोगी बनाउन पहल गरिएको भन्दै धन्यबाद ज्ञापन गरेका थिए ।
केन्द्रीय सचिव चिरञ्जिवी ज्ञवालीले संचालन गरेको कार्यक्रममा ३२ औ योग केन्द्रका संयोजक सुरेश खत्रीले स्वागत मन्तब्य राखेका थिए भने ३६ औ योग केन्द्रका प्रमुख संयोजक रामचन्द्र तिवारीले कार्यक्रमको उदेश्यको बारेमा प्रकाश पारेका थिए ।
सो अवसरमा केन्द्रिय पदाधिकारीहरू, अन्तर्राष्ट्रिय संयोजक, जिल्ला संयोजक, वडा संयोजक, योग प्रशिक्षकहरू, आजीवन सदस्य, साधारण सदस्य, वडा कार्यालयका पदाधिकारीहरू, सचिव, स्थानीय सामाजिक तथा बौद्धिक ब्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो ।
सोही अवसरमा ३६औं योग केन्द्र व्यवस्थापन समिति समेत गठन गरिएको छ । प्रमुख संयोजकमा योग प्रशिक्षक रामचन्द्र तिवारी, संयोजकमा देबराज बिसी सह–संयोजक, योग प्रशिक्षक प्रेम बिसी साथै सदस्यहरूमा शेर बहादुर बिसि, लीला कुमारी बुढा, शंकर चन्द, खडक बहादुर ओली, उज्वल बिसि, देबबहादुर बुढा रहेका छन् भने सल्लाहकारहरूमा टेकबहादुर बुढा मगर, बिदुर लामिछाने, दिलबिर बुढा रहेको योग समिति नेपालका उपाध्यक्ष लोकमाया सुवेदी (सुमित्रा ) ले जानकारि दिईन ।
कार्यक्रमले समुदायमा स्वास्थ्य, आत्मअनुशासन र सामाजिक समन्वयको महत्वमा ध्यान दिन प्रेरणा दिएको छ एवं नयाँ केन्द्रले स्थानीय तहमा योगको अभ्यास र प्रचार–प्रसारमा उल्लेखनीय भूमिका खेल्ने अपेक्षा समेत गरिएको छ ।
हेल्थइरा । २०८२, ६ बैशाख शनिबार