अन्ततः लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा

दाङ : लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले बिहीबार राप्ती उपत्यका  (देउखुरी) मा आयोजित विशेष समारोहमार्फत लुम्बिनी प्रदेशलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना कायम भएको घोषणा गरेका हुन ।

घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशका कुनै पनि बालबालिका खोप सेवा लिनबाट बञ्चित हुन नपरोस् भन्नेगरी अभियान केन्द्रीत गरिनुपर्ने बताए ।

‘प्रदेश सरकारले लिएको लक्ष्य प्राप्तिका लागि जुन प्रतिबद्धताका साथ तपाईंहरू लाग्नुभयो, सबै बधाईका पात्र हुनुहुन्छ । हामीले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिसकेका छौं’–उनले भने–‘आगामी दिनमा पनि कुनै बालबालिका खोप सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ यहाँहरु निरन्तर लागिपर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले २०७९ भाद्र ३१ गते नेपालकै दोश्रो पुर्णखोप प्रदेश पहिलो पटक घोषणा भएको र त्यसपश्चात निरन्तर प्रत्येक वर्ष सुनिश्चितता तथा दिगोपना गर्दै आएको बताए ।

‘मातृमृत्यूदर, शिशुमृत्यूदर र पोषणलाई स्वास्थ्य मन्त्रालयले विशेष प्राथमिकता दिएर काम गरिरहेका छौं’– उनले भने–‘स्वास्थ्यका नकारात्मक सुचकहरुलाई न्यूनिकरण गर्ने विषयमा लुम्बिनी प्रदेशले प्रगति गरिरहेको छ ।’

कार्यक्रममा परिवार कल्याण महाशाखा निर्देशक डा. विवेककुमार लाल, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

राष्ट्रिय खोप समन्वय समिति सचिवालयका अध्यक्ष विकास देवकोटाले लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठलाई पूर्ण खोप सुनिश्चितता प्राप्त प्रदेश भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । सो अवसरमा मुख्यमन्त्री आचार्य, स्वास्थ्य मन्त्री सारुलगायत सभागिहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा अभियानलाई सघाउने पाँच जना स्वास्थ्यकर्मी ओमप्रकाश पन्थी, दिपाकरकुमार महर्जन, जनकराज गिरी, चिन्तामणी ज्ञवाली र हरिप्रसाद आचार्यलाई सम्मान गरिएको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया