
नेपालगञ्ज : मधेश प्रदेशका निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएपछि सेवाग्राही समस्यमा परेका छन ।
निजी स्वास्थ्य संस्थाहरूमा श्रमशोषण भएको भन्दै स्वास्थ्यकर्मीहरुले ८ सुत्रीय मागसहित आन्दोलन सुरु गरेका हुन । आफूहरू लामो समयदेखि न्यून तलब, असमान व्यवहार र असुरक्षित वातावरणमा काम गर्न बाध्य भएको उनीहरुको गुनासो छ ।
नेपाल सरकारको नियम अनुसार तलब स्केल लागु गर्नुपर्ने, सरकारी स्वास्थ्य संस्थाका करारकर्मीलाई हटाई लोक सेवा आयोगबाट विज्ञापन गर्नुपर्ने, स्वास्थ्यकर्मीको बीमा र सुरक्षाको व्यवस्था गर्नुपर्ने, हप्तामा अधिकतम ४२ घण्टा मात्र कामको सीमा तोक्नुपर्ने माग स्वास्थ्यकर्मीहरुको छ ।
मन्त्रालयबाट पटक–पटक सूचना जारी भए पनि निजी अस्पतालहरूले कार्यान्वयनमा नल्याएकाले मनोबलमा गिराउने काम भएकोले आफूहरु बाध्य भएर आन्दोलनमा उत्रिएको स्वास्थ्यकर्मी नवेश अधिकारीले बताए ।
जिल्ला प्रशासन कार्यालय, श्रम मन्त्रालय, मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए पनि हालसम्म कुनै ठोस पहल नभएको गुनासो स्वास्थ्यकर्मीहरुको छ ।
स्वास्थ्यकर्मीहरुको आन्दोलनले अस्पतालको सेवा प्रभावित हुनुको साथै सेवाग्राहीहरु समस्यामा परेका छन ।


हेल्थइरा । २०८२, १७ कार्तिक आईतवार