
नेपालगञ्ज : भेरी अस्पताल नेपालगन्जमा बच्चा बच्चा जन्मेको २४ घण्टापछि नै सिकलसेलको निःशुल्क परीक्षण हुने भएको छ । यसले समयमै समस्या पत्ता लाग्दा उपचार समयमै सुरु गर्न सकिने छ ।
अस्पतालका चिकित्सक समेत रहेका सिकलसेल, थालेसिमियाका विज्ञ डा. राजन पाण्डेले रोग नै पत्ता नलागेर बर्षौ मानिसहरूले दुःख पाउँदै आएको भन्दै जन्मेको २४ घण्टामै परीक्षण गरेर समस्या छ, छैन एकिन गर्न सकिने भएको जानकारी दिए ।
डा. राजन पाण्डेले थारु समुदायमा जनस्वास्थ्यको समस्याका रूपमा रहेको सिकलसेल अन्य जातजातिमा पनि भेटिने गरेको बताए। उनले भने,–‘अब भेरी अस्पतालमा जन्मने बच्चाको अभिभावकको अनुमतिमा निःशुल्क परीक्षण हुन्छ, अन्य अस्पतालमा जन्मेका बच्चाको पनि भेरी अस्पतालमा परीक्षण गराउन सकिनेछ ।’ सिकलसेल समयमै पत्ता नलाग्दा कतिपय बच्चाको नवजात अवस्थामा ज्यान जाने गरेको उनको भनाई छ । ‘अब नवजातमा सिकलसेल देखिए ३ महिनापछि पाँच बर्षसम्म थप खोप र औषधी सेवन गराउनु पर्छ ।’
भेरिमा अब जन्मदै सिकलसेल देखिएमा बच्चा ९ महिना भएपछि पहिलो दादुरा रुबेला खोप लगाउनले समयमा पुनः परीक्षण गरी सिकलसेल, बिटा थालेसेमिया लगायत अन्य हेमोग्लोबिनोप्याथी भए, नभएको थप पुष्टि हुने व्यवस्था मिलाइएको छ । सिकलसेलको समस्या बढी भएको यस क्षेत्रमा सिकलसेल, थालेसिमिया नियन्त्रण, न्यूनीकरणका लागि सचेतनाको आवश्यक रहेको डा. पाण्डेले बताए । डा. पाण्डेले भेरी अस्पतालमा प्रिनेटल डाग्लोसिस, बोनम्यारो ट्रान्सप्लान्टेसन बाहेक हेमोग्लोबिनोप्याथी कम्प्रेसिभ केयरका धेरै सुविधाहरू भेरी अस्पताल नेपालगञ्जमा रहेको जानकारी दिए ।
अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेल विज्ञ सह प्रा.डा राजन पाण्डेका अनुसार नेपालमै पहिलो पटक भेरी अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक मेशिन (Bio–Rad VARIANT™ nbs System) प्रयोग गरी नवजात शिशुमा सिकलसेल रोगको निःशुल्क परीक्षण सेवा सुरु गरिएको हो । याँ मेसिन जडान भएसँगै जन्मेको २४ घण्टापछि र पाँच दिनभित्र जाँच गर्दा सिकलसेल एनिमिया भए–नभएको पुष्टि गर्न सकिन्छ ।
डा.पाण्डे सिकलसेल एनिमिया रोगको परीक्षण र उपचारमा असाधारण उपलब्धी मिलेको बताउछन् । २०७३ साल साउनसम्म नेपालमा सिकलसेल एनिमिया रोग भएको वा नभएको पत्ता लगाउन रगत परीक्षण गर्ने सुविधा थिएन । त्यसका लागि रगतको नमूना भारत पठाउनुपर्ने बाध्यता थियो ।



हेल्थइरा । २०८२, ७ पुष सोमबार