देशभर ७ हजार बढीमा डेङ्गु पुष्टि, छ सङक्रमितको मृत्यु

नेपालगञ्ज :  देशका ७५ जिल्लाबाट सात हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि हुनुको साथै छ जनाको मृत्यु समेत भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्याक अनुसार सात हजार ७५ जनामा डेङ्गु पुष्टि भएको छ । सोही समयमा छ डेङ्गु सङ्क्रमितको मृत्यु भएको इडिसिडीका कीटजन्य शाखा प्रमुख डा.गोकर्ण दाहालले जानकारी दिए ।

उनका अनुसार डोल्पा र मनाङ गरी दुई जिल्लामा हालसम्म डेङ्गु सङ्क्रमण पुष्टि भएको छैन । डेंगु सङ्क्रमण बागमती प्रदेशमा एक हजार ७ सय ६३ जनामा डेङ्गु पुष्टि भएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशमा एक हजार ७ सय ७५, लुम्बिनीमा एक हजार १ सय ६९, कोशीमा ९ सय ९३, सुदूरपश्चिममा ७ सय ८८, कर्णालीमा ५ सय र मधेशमा १ सय ४७ जनामा डेङ्गु पुष्टि भएको छ ।

चिकित्सकका अनुसार डेङ्गु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्छ । सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार असाध्य शरीर दुख्ने, खाना खान मन नलाग्ने, पखाला लाग्ने डेङ्गुका प्रमुख लक्षण हुन् ।

त्योबाहेक, उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनेजस्ता लक्षण देखिन्छ । डेङ्गु भएको बेलामा चिकित्सकको सुझावमा मात्र औषधी सेवन गर्न डा.पुनले आग्रह गरे ।

ज्वरो आएमा, खोकी लागेमा वा श्वास फेर्न गाह्रो भएमा तुरुन्त स्वास्थ्य संस्थामा गएर चिकित्सकसँग परामर्श गर्न उनले अनुरोध गरे । डेङ्गु सङ्क्रमणको जोखिम आगामी कात्तिकसम्म रहने भएकाले थप सचेत रहन चिकित्सकको आग्रह छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया