
नेपालगञ्ज : बाँकेमा सुरु गरिएको राष्ट्रिय पोषण स्क्रिनिङ अभियानले प्रारम्भिक चरणमै बालबालिका र गर्भवती महिलामा कुपोषणको अवस्था देखाएको छ ।
बाँकेमा ६ महिनादेखि ५९ महिनासम्मका बालबालिका तथा पहिलो हजार दिनभित्रका आमामा हुने कुपोषणको समयमै पहिचान गर्ने उद्देश्यले सञ्चालन गरिएको राष्ट्रिय पोषण स्क्रिनिङ अभियान बाँके जिल्लामा प्रभावकारी रूपमा सुरु गरिएको हो।
खजुरा गाउँपालिका–२ सीतापुर स्वास्थ्य चौकीमा गरिएको परीक्षणमा पाँच वर्षमुनिका ६९ बालबालिकामध्ये पाँच जना मध्यम कुपोषणमा रहेको पाइएको छ भने सात गर्भवतीमध्ये दुई जना कुपोषित भेटिएका छन् ।
यसले समुदायस्तरमै अझै पोषणसम्बन्धी चुनौती विद्यमान रहेको संकेत गरेको छ । समयमै पहिचान गरी उपचारमा जोड दिन अभियान प्रभावकारी बन्न सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।
स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलका अनुसार अभियानअन्तर्गत बालबालिका र पहिलो हजार दिनका आमाको तौल, उचाइ तथा उमेरका आधारमा पोषण अवस्था परीक्षण गरी जोखिम समूहलाई उपचार, परामर्श र आवश्यक पोषण सहयोग प्रदान गरिँदैछ ।

हेलन केलर इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबको सहकार्यमा सञ्चालित अभियान राप्तीसोनारीका विभिन्न वडामा समेत विस्तार गरिएको छ। समुदायमै पुगेर सेवा दिइँदा कुपोषण न्यूनीकरणमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।



हेल्थइरा । २०८३, १८ बैशाख शुक्रबार