पश्चिम नेपालमा पहिलो पटक अवेकक्रेनियोटोमी गरी ब्रेनट्युमरको सफल शल्यक्रिया

रुद्र सुवेदी  / नेपालगञ्ज  : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले पश्चिम नेपालमा पहिलो पटक ‘अवेकक्रेनियोटोमी’ गरी ब्रेनट्युमरको सफल शल्यक्रिया गर्न सफल भएको छ ।

२०५३ सालमा स्थापना भई स्वास्थ्य सेवा तथा चिकित्साशास्त्र अध्यापन सेवा प्रदान गर्दै आइरहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले अन्नपूर्ण न्यूरो अस्पताल, काठमाडौंको सहकार्यमा न्यूरोसाईन्स विभाग संचालन गरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामीलाई सेवा प्रवाह गर्न सफल भएको अस्पतालका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले जानकारी दिए ।

उनले अस्पतालमा एक हप्ताभित्रै दुईवटा ‘अवेकक्रेनियोटोमी’ गरी ब्रेनट्युमर को सफल शल्यक्रिया गरिएको बताए । ‘दुबै विरामी सफल शल्यक्रिया भई अस्पतालबाट डिस्र्चाज भएर घरमा स्वास्थ्य लाभ गरिरहेका छन्’– उनले भने ।

प्रबन्ध निर्देशक डा. कनोडियाले अस्पतालले नविनतम र आधुनिक सेवा प्रवाह गर्ने उद्देश्यले नयाँ एमआरआई मेसिन १.५ टेस्ला को जडान गरी सेवा प्रवाह सुरु गरेको जानकारी दिदै अस्पतालमा आगामी २ महिना भित्रै मुटु उपचारको लागि क्याथल्यावको सेवा सञ्चालनमा ल्याउने तयारी रहेको बताए ।

प्रबन्ध निर्देशक डा. कनोडियाले अस्पतालले दाँतका विभिन्न उपचार सेवा दिनुको साथै ‘पेनलेस’ प्रसुति सेवा सञ्चालनको लागि प्रयासमा लागेको बताए । उनले भने–‘ हामी कति सक्सेस हुन्छौ थाहा छैन तर, पेनलेश डेलिभरी सेवा दिने प्रयासमा छौ । कोहलपुर अस्पतालमा सेवा दिएका पनि छौ । विभिन्न विषेशज्ञ चिकित्सक टिम स्टेण्डवाई रहनु पर्दा अलि महंगो हुने हुन्छ । ’

के हो ? ‘अवेकक्रेनियोटोमी’

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका न्युरोसाईन्स विभागका प्रमुख तथा बरिष्ठ कन्सल्टेन्ट न्यूरो सर्जन डा.मनिष कोलाक्षपतिले ‘अवेकक्रेनियोटोमी’ शल्यक्रिया भनेको बिरामीलाई अर्धचेत अवस्थामा राखी मस्तिष्कमा भएको ट्युमर निकाल्ने एक प्रकारको शल्यक्रियाको प्रकृया भएको बताए ।

उनले भने–‘ यस शल्यक्रियामा, शल्यक्रियाको दौरान बिरामीलाई हातखुट्टा चलाउन लगाउँदै, आँखा देख्ने, नदेख्ने हेर्न लगाउँदै र पुराना कुराहरु सोध्दै शल्यक्रिया गर्ने गरिन्छ ।’

शल्यक्रियामा महत्वपूर्ण भूमिका एनेस्थेसियोलोजिस्टको हुने भएकोले अस्पतालका एनेस्थेसियोलोजिस्ट डा. नवीनकुमार रेग्मीले ‘अवेकक्रेनियोटोमी’ शल्यक्रियाका बारेमा जानकारी दिदै भने–‘ बिरामीलाई यस्तो प्रकारको एनेस्थेसिया (औषधि) दिईन्छ, जसले गर्दा बिरामीलाई शल्यक्रियाका बेलामा कुनै किसिमको डर र दुखाइ महसुस हुँदैन ।’

उनले नेपालगञ्ज– ११, कीे रेखा कश्यपलाई हात–खुट्टा चलाउदै, बोली, र स्मरण शक्ति बचाउनको लागि मस्तिष्कमा भएको ट्युमरको सफल शल्यक्रिया गरिएको बताए । यसैगरी वीरेन्द्रनगर–१,सुर्खेत की दीपा गौतमलाई भने हात–खुट्टाको मुभमेन्ट र आँखाको दृष्टि जोगाउनको लागि दोस्रो अवेकक्रेनियोटोमी गरी ब्रेनट्युमरको सफल शल्यक्रिया गरिएको जानकारी दिए ।

यो शल्यक्रिया न्युरो सर्जरी विभागबाट, डा कोलाक्षपति, डा.निरज घिमिरे, डा.सुबोध गौतम, डा.उपमा शर्मा, र एनेस्थेसिया विभागबाट डा. रेग्मी, डा.कपिल पोखरेललगायत कर्मचारीको सहयोगमा गरिएको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया