नेपालगञ्जमा तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

नेपालगञ्ज :   नेपालगञ्जमा तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान सुरु गरिएको छ । नेपालगञ्ज उपमहानगर क्षेत्र अन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले सचेतनाका लागि घरघरमा स्वयंसेवक खटाएको हो ।

अत्यधिक गर्मी र तातो हावा ‘लु’को उच्च जोखिम रहेकाले नेपालगञ्ज–२१ र २२ मा घरदैलो अभियान सञ्चालन गरिएको हो । स्वयम्सेवकहरुले घरघरमा पुगेर स्थानीयलाई गर्मी र ‘लु’ बाट बच्ने उपाय तथा अपनाउनु पर्ने सावधानी र उपायका बारेमा पर्चापम्प्लेटलगायत प्रचारप्रसार सामग्रीमार्फत सिकाइ रहेका रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्द्धन सिंह सम्झनाले बताए ।

‘उनीहरुले रेडक्रसबाट प्रदान गरिएको जनचेतनामूलक पर्चापम्प्लेट लिई घरधुरी सर्वेक्षण फारम समेत भरिरहेका छन् । घरदैलोका क्रममा उनीहरुले अत्यधिक गर्मी र लुबाट कसरी जोगिने, कस्ता खानेकुरा खाने, स्वास्थ्य स्याहार कसरी गर्ने, जोखिमका बेला कहाँ सम्पर्क गर्नेलगायत विषयमा जानकारी दिइरहेको छन’–सभापति सम्झनाले भने ।

टिनको छाना भएका घर, दीर्घरोगी तथा अन्य स्वास्थ्य समस्या भएका बिरामी, गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, असहाय र अपाङ्गता भएकालगायतलाई अत्यधिक गर्मी र लुबाट बच्ने उपाय सिकाउन थालिएको स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।

उनका अनुसार केही दिनअघि स्वयंसेवकलाई प्रशिक्षण दिएर घरदैलोमा खटाइएको छ । केही दिनदेखि यहाँ बढेको अत्यधिक गर्मी र तातो हावाले यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । दिउँसोको समयमा मानिसको चलहपहल घटेको छ । गर्मीले यहाँका अस्पतालमा मौसमी बिरामीको सङ्ख्या समेत बढेको भेरी अस्पतालले जनाएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया