यस्तो बानीका कारण सधैं स्वस्थ रहन मद्दत गर्छ

स्वास्थ्य नै धन हो त्यसकारण आफूलाई स्वस्थ राख्नु जीवनको सबैभन्दा महत्वपूर्ण कुरा हो । राम्रो स्वास्थ्यका लागि धेरै त्यस्तो केही गर्नुपर्दैन । सजिलै साना–साना कुराहरुलाई व्यवस्थापन गरेर पनि हामी सजिलै स्वस्थ रहन सकिन्छ ।

स्वस्थ रहन केही राम्रा बानी अपनाउनु धेरै महत्वपूर्ण हुन्छ । कतिपय कुरामा हामी लापरवाही भएर आफूलाई बिरामी बनाउँछौं । यसले सानो कुराले ठूलो समस्या निम्त्याउन सक्छ ।

कहिलेकाहीं स–साना रोग ठूला रोगको कारण बन्न सक्छन् भन्ने कुरामा गम्भीर बन्नुपर्छ । तसर्थ आफ्नो स्वास्थ्यसँग खेलबाड गर्नुको सट्टा यी १० राम्रा बानी आफ्नो दैनिक जीवनमा अपनाएर आफूलाई स्वस्थ राख्ने कोसिस गर्न सकिन्छ ।

बाहिरबाट घर आएपछि खाना पकाउनुअघि र खाना खाइसकेपछि साबुन पानीले राम्ररी हात धुने गर्नुपर्छ । अझ विशेष ध्यान दिनुपर्ने घरमा साना नानीबाबुहरु छन् भने यो विषयलाई अझ गम्भीर भएर पालना गर्नुपर्छ । बच्चालाई लिनुअघि हात राम्ररी धोएर वा सेनिटाइजरको प्रयोग गर्नुपर्छ ।

घरको सरसफाइमा विशेष ध्यान दिन आवश्यक हुन्छ । विशेषगरी भान्साघर तथा शौचालयमा पानी जम्मा हुन नदिने र भाँडा माझ्ने बेसिन, भान्छाको भुईं फिनेल र क्लिनर प्रयोग गरेर नियमित रूपमा सफा गर्नुपर्छ ।

ताजा तरकारी र फलफूल सेवन गर्नुका साथै मसला, खाद्यान्न तथा अन्य सामग्री राम्ररी भण्डारण गर्नुपर्छ । दैनिक प्रयोग गर्ने सामानको म्याद सकिएको छ कि छैन भन्नेमा विशेष ध्यान दिनुपर्छ । यसबाहेक कुनै पनि खानेकुरा खुला नराख्ने, काँचो र पकाएको खाना अलग–अलग राख्ने, खाना पकाउन र खानका लागि प्रयोग हुने भाँडाकुँडा, फ्रिज, चुल्हो दिनदिनै धुनुपर्छ । भिजेका भाँडाहरू सिधै ¥याकमा नराखी नरम कपडाले पुछेर वा घाममा सुकाएर मात्र राख्ने गर्नुपर्छ ।

धेरै तेल, मसला, पकाएको र भारी खानेकुराको सेवन नगर्ने र सही तापक्रममा खाना पकाउने गर्नुपर्छ । किनभने तरकारी धेरै पकाएमा त्यसको पौष्टिक तत्वहरूलाई नष्ट हुने सम्भावना हुन्छ । सकेसम्म सधैं ताजा खानेकुरा खानुपर्छ । साथै, ओभन प्रयोग गर्दा तापक्रममा विशेष ध्यान दिनुपर्छ ।

आफ्नो दैनिक आहारमा सलाद, दही, दूध, हरियो सागसब्जी, दाल आदि अनिवार्य प्रयोग गर्ने, खानामा विविधता समावेश गर्न प्रयास गर्ने, खाना पकाउँदा वा पिउँदा सफा पानी प्रयोग गर्ने र तरकारी तथा फलफूल राम्ररी धोएर खाने गर्नुपर्छ ।

पकाउनका लागि असंतृप्त वनस्पति तेल जस्तै भटमास, सूर्यमुखी, मकै वा जैतुनको तेलको प्रयोगलाई प्राथमिकता दिदै खानामा चिनी र नुन दुवैको मात्रा कम गर्ने । जंकफुड, सफ्ट ड्रिंक्स र कृत्रिम चिनीले बनेको जुस सेवन नगर्ने । रातिको खाना आठ बजेसम्म खाने प्रयास गर्ने । राति हल्का मात्रै खाना खाने र सुत्नुअघि १५ देखि २० मिनेट हिंड्न नबिर्सने ।

आफ्नो आराम गर्ने वा सुत्ने कोठा सफा, हावायुक्त र फराकिलो राख्नुपर्छ । नियमित रुपमा ओछ्यान, तकिया र पर्दा परिवर्तन गर्नुपर्छ । सकेसम्म डस्ना सिरक हप्ता वा महिनाको एकचोटि घाममा सुकाउने वा टक्टकाउने गर्नुपर्छ ।

एकाग्रता बढाउन र तनावबाट टाढा रहन ध्यान, योग वा ध्यानको प्रयोग आवश्यक छ । त्यसैले बिहान आफ्नो लागि समय निकाल्ने, चाँडै उठ्ने, नियमित व्यायाम वा योग गर्ने बानी बसाल्नुपर्छ ।

हरेक दिन कम्तीमा आधा घण्टा व्यायाम गर्ने र दैनिक व्यायाम गर्ने तरिका परिवर्तन गरिरहनुपर्छ । जस्तै– कहिले एरोबिक्स गर्ने र कहिले छिटो हिंड्ने गर्नुपर्छ । समय पाउन सक्नुहुन्न भने तपाईंको कार्यालय वा घरको सिंढी चढ्ने गर्ने र छिटो हिंड्ने र अफिसमा पनि लामो समय एउटै पोजिसनमा नबस्ने समय–समयमा हिंडडुल गर्ने गर्नुपर्छ ।

४५ वर्ष पुगेपछि नियमित रुपमा स्वास्थ्य जाँच गराउनुपर्छ । चिकित्सकले कुनै औषधि दिएको अवस्थामा त्यसलाई नियमित सेवन गर्नुपर्छ । आफ्नो लागि समय निकाल्ने, बच्चाहरूसँग खेल्ने, परिवारसँग मनोरञ्जनका लागि समय निकाल्नुपर्छ । रिसलाई आफूमाथि हाबी हुन नदिने गर्न सकिन्छ । अनलाइनखबरबाट

 




फेसबुकबाट तपाईको प्रतिक्रिया