खजुरा (बाँके) : बाँकेको खजुरा गाउपालिकाले महिलाका लागि लक्षित गरी सञ्चालन गरेको विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य शिविरबाट २७ जनामा पाठेघरको मुखको क्यान्सरको लक्षण भेटिएको छ ।
गाउपालिकाले ८ वटै वडामा सञ्चालन गरेको सो शिविरमा ३५ वर्ष उमेर समुहका २ सय ५० महिलामा गरिएको पाठेघरको मुखको क्यान्सरको परिक्षणबाट उनीहरुमा क्यान्सरको जिवाणु भेटिएको पालिका स्वास्थ्य शाखामा कार्यरत नर्सिङ्ग अधिकृत लक्ष्मि केसी ओलीले जानकारी दिईन ।
गाउपालिकाका उपाध्यक्ष मञ्जु मल्लले महिलाहरुमा अझै पनि आफ्नो स्वास्थ्य समस्या लुकाउने गर्दा पछि गएर जटिल समस्यामा पर्ने भएकोले गाउघर मै विशेषज्ञ चिकित्सक सहित महिलाका विभिन्न स्वास्थ्य समस्याका बारेमा जाँच गराउने उद्देश्यले निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको बताईन ।
उनले भनिन–‘ तपाईहरुको घर दैलोमा नै विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य शिविर पालिकाले लिएर आएको छ । आफ्नो समस्या नलुकाएर भन्नुहोस र सुबिधाको फाईदा उठाउनु होस ।’
खजुरा गाउपालिकाका अध्यक्ष डम्बर विक तुफानले खजुरा आफ्ना जनताको स्वास्थ्य प्रति सजक र संवेदनशिल रहेको बताउदै महिलाको लागि मात्रै निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको स्पट पारे ।
उनले पछिल्लो समय हरेक दिन क्यान्सर जस्तो रोगको उपचारको लागि पालिकामा दिनहुँ सिफारिस र उपचारको लागि आउनेको ठूलै लर्को हुने भएकोले पनि विपन्न र ग्रामिण क्षेत्रमा स्वास्थ्य शिविरिको आयोजना गरेर जाँच गर्ने व्यवस्था मिलाईएको बताए ।
पालिकाले घरदैलो मै आफुहरु जस्ता महिलाको लागि लक्षित गरी निशुल्क स्वास्थ्य जाँच गर्ने अवसर दिएर गुण लगाएको सेवाग्राही महिलाले प्रतिक्रिया दिएका छन् ।
पालिकाका ८ वटै वडाका महिलालाई लक्षित गरी सञ्चालन गरेको सो शिविरबाट ८ सय ५० ले सेवा लिनुको साथै करिव १० जनालाई आङ्ग खस्ने समस्याको समाधानको लागि रिङ्ग पेसरी राखिएको र त्यति नै संख्यामा शल्यकृयाको लागि भेरी अस्पतालमा रिफर गरिएको नर्सिङ्ग अधिकृत केसीले जानकारी दिईन ।
शिविरबाट क्यान्सरको लक्षण देखिएका महिलाहरुलाई थप जाँचका लागि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा र अन्य समस्याका लागि भेरी अस्पताल नेपालगञ्जमा पठाईएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत बसबहादुर रानाले जानकारी दिए । शिविरमा स्त्रीरोग विशेषज्ञ डा कल्पना थापा र डा उर्मिला रिसालले जाँच गरेका थिए ।
हेल्थइरा । २०८०, १ चैत्र बिहीबार