‘पहिले अस्पताल त्यसपछि स्वास्थ्य विज्ञान विश्वविद्यालय’

अत्तरिया (कैलाली ) :  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने विषयमा दुविधामा नरहन आग्रह गरेका छन् ।

आज यहाँको गोदावरी नगरपालिका–५ गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अुनगमनका क्रममा उनले भने, ‘विश्वविद्यालय बनाउने, एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने कुरा पनि सँगसँगै अगाडि बढाउनुस् । पहिले जे हुन्छ, त्यो गर्दैँ जाउँ पहिला अस्पताल, त्यसपछि एमबीबीस सञ्चालन गर्न मिल्छ ।’

उनले विश्वविद्यालय सञ्चालनका आफ्नै प्रकृया रहेको कुरामा जोड दिदै भने–‘विश्वविद्यालय बन्न सक्दा राम्रो हुन्छ । लागत बढी छ । राज्यले त्यो लागत उपलब्ध गराएर विश्वविद्यालय सञ्चालन गर्नुपर्छ ।’

उनले अस्पताल, मेडिकल सञ्चालन नभएको ठाउँमा विश्वविद्यालय बन्न गाह्रो हुने बताए । नियमावली परिवर्तन गर्नुपर्ने भए पनि तत्काल १० जना छात्रवृत्तिका चिकित्सक र २० जनासम्म नर्सिङ कर्मचारी पठाउने उहाँले जानकारी दिए । ‘यसलाई तीन सय शैयाको अस्पताल सञ्चालन गरौँ । यसले विश्वविद्यालयको काम रोकिने होइन्’ उनले भने ।

मन्त्री पौडेलले गेटा अस्पतालमा २४सै घण्टा आकस्मिक सेवा सञ्चालन गर्न निर्देशन दिए । गेटामा करिब सात अर्बको भौतिक संरचना निर्माण भएका छन् । हाल यहाँ ५० शैयाको अस्पताल सञ्चालनमा छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया