काठमाडौं : स्वास्थ्य पत्रकार मञ्चकी पूर्व अध्यक्ष तथा हेल्थ टिभी अनलाइनकी सम्पादक कल्पना आचार्यले अन्तराष्ट्रिय पुरस्कार प्राप्त गरेकी छन् ।
एन्टीमाइक्रोबियल रेसिस्टेन्स एएमआर सम्बन्धी संयुक्त राष्ट्रसंघको उच्च स्तरीय बैठक यूएनजीए हाइ लेबल मिटिङ सम्बन्धी उत्कृष्ट रिपोर्टिङ गरे वापत उनलाई अन्तराष्ट्रिय अवार्ड प्रदान गरिएको हो । ग्लोबल एएमआर मिडिया अलायन्सले आयोजना गरेको चौंथो ग्लोबल मिडिया फोरममा आचार्यलाई सो अवार्ड प्रदान गरिएको हो ।
एन्टीमाइक्रोबियल रेसिस्टेन्स सम्बन्धी रिपोर्टिङ गर्ने ४३ देशका ४ सय १३ जना पत्रकारहरुले उक्त अवार्डका लागि आवेदन दिएका थिए । ६ विधामा सम्मान गरिएको भए पनि एएमआर सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्च स्तरीय बैठकबारे रिपोर्टिङ गर्नेमा आचार्य मात्र छानिएकी हुन् ।
ग्लोबल एएमआर मिडिया अलायन्सले पहिलोपटक यो वर्षदेखि एएमआर अवार्ड प्रदान गर्न थालेको हो । त्यसका लागि विश्वभरबाट आवेदन आह्वान गरिएको थियो । गत १५ मे २०२४ देखि २२ अक्टोबर २०२४ सम्म प्रकाशित भएका समाचार फिचर, भिडियो स्टोरीलाई अवार्डका लागि छनौट गरिएको थियो ।
६ वटा डब्लूएचओ रिजन साउथ इस्ट एशिया, अफ्रिकन, इस्टर्न मेरिडियन, प्यान अमेरिकन, वेस्टर्न प्यासिफिक, यूरोपियन रिजनबाट ३ जनालाई पहिलो, दोस्रो र तेस्रो अवार्ड प्रदान गरिएको थियो ।
यसैगरी ग्लोबल क्याटागोरीमा ३ जना र यस वर्षको यूएनजीए हाइलेबल मिटिङ मा स्पेशल रिपार्टिङको एउटा विशेष अवार्ड प्रदान गरिएको हो । सो अवार्ड विश्वव्यापी रुपमा एक जनालाई मात्र दिइएकोमा नेपालबाट आचार्य छानिएकी हुन् ।
आचार्यले यूएनजीए एचएलएम अन एएमआर बैठकका महत्वपूर्ण विषयमा ७ वटा समाचार, विश्लेषण तयार पारेकी थिइन । सोका आधारमा उनलाई निर्णायक मण्डलले प्रथम पुरस्कार दिने निर्णय गरेको हो ।
अवार्ड पाएलगत्तै आचार्यले आफूले अवार्डका लागि काम गरेको नभए पनि यस प्रकारको अन्तराष्ट्रिय अवार्ड र पहिचानले आफूलाई यस क्षेत्रमा काम गर्न अझ बढी प्रेरणा मिलेको बताइन् ।
हेल्थइरा । २०८१, २४ कार्तिक शनिबार