मुख्यमन्त्री आचार्यद्वारा खजुरा क्यान्सर अस्पतालको स्थलगत अवलोकन

खजुरा (बाँके)  :  बाँकेको खजुरामा नागरिकको मुठ्ठीदानबाट निर्माण भएको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार अवलोकन गरेका छन् ।

यो अस्पताल धार्मिक कार्यबाट नागरिकले मुट्ठी दान गरेर निर्माण गरि सरकारलाई हस्तान्तरण गरिएको लुम्बिनी प्रदेशको एकमात्र क्यान्सर अस्पताल भएपनि संघीय सरकारले नागरिकबाट जिम्मा लिएर बिगत ९ वर्षदेखि बिना दरबन्दी संचालन गर्दै आएको छ ।

अवलोकनका क्रममा मुख्यमन्त्री आचार्यले बिरामीहरुसँग अस्पतालले दिएको सेवा बारे जिज्ञासा राखेका थिए । सो अवसरमा अस्पताल प्रशासनलाई उनले संघीय सरकार मातहतको अस्पताल भए पनि प्रदेशले नियमले दिने सहयोग उपलब्ध गराउने आश्वासन दिए ।

उनले सो अवसरमा प्रदेशले गर्न सक्ने योजनाहरु लिएर प्रदेश राजधानी आउन आग्रह गर्दै अस्पताल सञ्चालनको लागि आवश्यक दरबन्दी र कितावखानामा दर्ता गर्ने विषयमा आफुले संघीय सरकारमा पहल गर्ने बताए । बिना दरबन्दी अस्पताल संचालन भएको प्रति आश्यर्य प्रकट गर्दै आफ्नो तर्फबाट गर्न मिल्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।

त्यसअघि अस्पतालका कार्यकारी निर्देशक डा प्रकाशप्रसाद साहले बिगत ९ वर्षदेखि दरबन्दी बिना काज र दैनिक ज्यालादारी कर्मचारी र चिकित्सकहरुबाट अस्पताल संचालन भइरहेको, अस्पतालको जनशक्तिलाई निजामती कितावखानामा दर्ता नगरिँदा स्वास्थ्यकर्मीहरु टिकाउन असहज बनेको, चिकित्सक तथा नर्सहरुको आवास नहुँदा सेवा प्रभावित बनेको जस्ता समस्याहरु प्रस्तुत गरेका थिए ।

अस्पतालका कार्यकारी निर्देशक डा. साहले प्रबिधि, स्रोत, साधन हुँदाहुँदै पनि जनशक्तिको ब्यवस्थापन नहुँदा संचालनमा असहज बनेको जानकारी गराए । उनले भने–‘अस्पतालमा सेवा बृद्धि गर्नको लागि आवश्यक भौतिक पूर्वाधार भवन अभाव छ । दरबन्दी छैन काजमा काम चलाउनु परेको छ । विज्ञ रेडियोलोजिष्ठ आउनै मन्दैनन ।’

अवलोकनमा प्रदेशसभाका सदस्य रत्न खत्री, लुम्बिनी प्रदेशका मुख्यसचिव महादेव पन्थ, बर्दिया र बाँकेका सांसदहरुको सहभागीता रहेको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया