बर्दियामा आधुनिक प्रविधिबाट मोतीविन्दुको उपचार सुरु

गुलरिया (बर्दिया) :  बर्दियाको गुलरियामा रहेको शिवगङ्गा आँखा अस्पतालमा पहिलो पटक आधुनिक (फेको) प्रविधिबाट आँखाको शल्यक्रिया सुरु भएको छ  । नेपाल रेडक्रस सोसाइटी बर्दियाले सञ्चालन गरेको सो अस्पतालमा फेको प्रविधि भित्र्याइएको हो ।

शिवगङ्गा आँखा अस्पतालका प्रमुख हरि केसीले १५ दिनअघि मात्र भित्र्र्याइएको फेको प्रविधिबाट हालसम्म छ जनाको मोतीविन्दुको सफल शल्यक्रिया गरि सेवा दिएको बताए । हातबाट गरिने शल्यक्रियाभन्दा फेको प्रविधिबाट गरिने शल्यक्रियाले बिरामीलाई सहज हुन्छ र यो आँखामा धेरै घाउ नबनाई गरिने शल्यक्रिया हो ।

यो संगै फेको प्रविधिबाट शल्यक्रिया गर्नका लागि महँगो मूल्य तिरेर बर्दियाभन्दा बाहिर जानुपर्ने बाध्यता हटेको छ । हाल फेको प्रविधिबाट शल्यक्रिया गर्नका लागि आँखा अस्पतालले प्रतिव्यक्ति १० हजार रुपियाँ शुल्क लिने गरेको छ । उनले भने–‘फेको प्रविधि नयाँ भएको हुनाले हाल निःशुल्क गर्न सकिएको छैन ।’

शिवगङ्गा आँखा अस्पतालले हाल मोतीविन्दुको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरेको छ । यस आर्थिक वर्षमा ६५ जनाले निःशुल्क शल्यक्रिया गराइसकेका छन् ।

आगामी पुस १५ सम्म बर्दिया जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन गरी सो स्थानबाट पहिचान भएका मोतीविन्दुका बिरामीलाई निःशुल्क शल्यक्रिया गर्ने योजना रहेको छ ।

अस्पताल प्रमुख केसीले बर्दिया जिल्लाका करिब सात हजार जनाको आँखाको निःशुल्क जाँच गर्ने र एक हजार दुई सय जनालाई मोतीविन्दुको निःशुल्क शल्यक्रिया गर्ने योजना रहेको बताए । निःशुल्क आँखा शिविर र शल्यक्रियाका लागि रुइत फाउन्डेसनले सहयोग गरेको छ ।

गत आव २०८१/८२ मा रुइत फाउन्डेसनको सहयोगमा तीन हजार ३ सय ४० जनाको निःशुल्क आँखा परीक्षण गर्दा फेला परेका ६ सय ६६ जनाको मोतीविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ ।

२०४६ सालमा बर्दिया रेडक्रसले सुरु गरेको शिवगङ्गा आँखा अस्पतालमा शिविरबाहेक हालसम्म तीन लाख ५२ हजार ९ सय ८५ जनाले आँखा जाँच सेवा लिइसकेका छन् । तीमध्ये एक हजार ३ सय ४७ जनाको सानो शल्यक्रिया भएको छ भने १० हजार १ सय ५७ को मोतीविन्दुको शल्यक्रिया भएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया