
नेपालगञ्ज : बाँकेमा गत आर्थिक वर्षमा आयुर्वेद स्वास्थ्य सेवा करिव ८० हजार सेवाग्राहीले सेंवा लिएको पाईएको छ । बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सम्पन्न भएको जिल्लास्तरिय वार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रमका अवसरमा सो जानकारी भएको हो ।
वर्ष भरीमा आयुर्वेद स्वास्थ्य केन्द्र, नागरिक आरोग्य सेवा केन्द्र, तथा आयुर्वेद औषधालयबाट ७८ हजार ८ सय ८२ जनालाई विभिन्न प्रकृतिका सेवा उपलब्ध गराईएको केन्द्र प्रमुख डा. आलोक कुमार पाण्डेले जानकारी दिए ।
उहाँले ओपिडीबाट ५१ हजार ४ सय ४६, नसर्ने रोगका लागि १ हजार ९ सय २०, विभिन्न खालका थेरापी, योग तथा ध्यान शिविर, सुधारिएको भन्सा, प्रयोगशाला सेवा, पूर्वकर्म पञ्चकर्मलगायतका सेवा जिल्लामा रहेका आयुर्वेद संस्थाबाट उपलब्ध गराईदै आएको जानकारी दिए ।
उनले लुम्बिनी प्रदेश सरकारको विषेश लगानीमा नेपालगञ्जमा निर्माणाधिन अस्पताल भवन निर्माणमा ढिलाई भएको कारण सेवा प्रवाहमा कठिनाई भएको, सिमित जनशक्तिमा पनि सेवाग्राहीलाई सेवा प्रवाह गरिरहेको बताए ।
बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका सूचना अधिकारी डा. गिता रेग्मीले सहजिकरण गर्नु भएको सो कार्यक्रमा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री भण्डारीलाल अहिरको प्रमुख आतिथ्यतामा सम्पन्न समिक्षा तथा योजना तर्जुमा कार्यक्रममा बाँकेमा क्रियाशिल आयुर्वेद स्वास्थ्य केन्द्र, नागरिक आरोग्य केन्द्रलगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
बाँकेमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र १, नागरिक आरोग्य सेवा केन्द्र ४, तथा आयुर्वेद औषधालय ४ वटा र कोहलपुरमा आयुर्वेद अस्पताल सञ्चालनमा रहेका छन् ।


हेल्थइरा । २०८२, ३० आश्विन बिहीबार