
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका देशभरमा सबैभन्दा बढी मातृ मृत्यु दर हुने पालिकाको रुपमा पहिचन भएपछि मातृ मृत्यु दर न्युनिकरण गर्नको लागि आमा सुरक्षा कार्यक्रम निजी क्षेत्रबाट सञ्चालनमा रहेको नेपालगञ्जको सन्जीवनी कलेज अफ मेडिकल साइन्सेस (सन्जिवनी अस्पताल) मा सुरु गरिएको छ ।
चालु आर्थिक बर्षको ८ महिनामा १० आमाको मृत्यु हुँदा नेपालगञ्ज उपमहानगरका मात्र ६ आमाले प्रसव पछि मृत्यु वरण गर्नुपरेको हो । भेरी अस्पतालमा मात्र रहेको आमा सुरक्षा कार्यक्रम अव सन्जिवनी अस्पताल नेपालगञ्जमा पनि लागू भएको छ ।
नेपालगञ्ज उपमहानगरका नगर प्रमुख प्रशान्त विष्टले उदघाटन गर्दै आमा सुरक्षा कार्यक्रम सन्जिवनी अस्पतालमा पनि सुरु भएपछि बाँकेमा मातृ शिशु मृत्यु दरमा सुधार हुने विश्वास व्यक्त गरे । चालु आर्थिक वर्षमा ८ महिनामा बाँकेमा १० आमाको प्रसवका कारण मृत्यु हुुदा नेपालगञ्जका मात्र ६ जना रहेका थिए ।
मातृ तथा शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै अस्पतालले आमासुरक्षा कार्यक्रम सञ्चालनमा ल्याएको अस्पतालका एमडी सन्तोष कुमार खनालले जानकारी दिए । उनले यो सेवा एक वर्ष पछि पुना सुरु गरेको बताए । सरकारले दुई वर्षको लागि आमा सुरक्षा कार्यक्रम लागू गरेको हो ।
अस्पतालका मेडिकल सुप्रीन्टेन्डन्ट डा. रोमान किदवाईले आमा सुरक्षा कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरूलाई नियमित जाँच, सुरक्षित सुत्केरी सेवा, आवश्यक परामर्श तथा उपचार सेवा सहज र सुलभ रूपमा प्रदान गरिने बताए ।
अस्पतालका विभागिय प्रमुख डा युवराज कार्कीले यस कार्यक्रमले विशेष गरी आर्थिक रूपमा कमजोर तथा सेवा पहुँचमा समस्या भएका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने बताए ।
निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम नहुदा सरकारी भेरी अस्पतालले त्यस्को भार खेप्दै आएको थियो । अब सन्जिवनी अस्पतालमा पनि आमा सुरक्षा कार्यक्रम सुरु भएपछि यसले सेवाग्राहीलाई ठूलो लाभ दिने छ ।
आमा सुरक्षा कार्यक्रम उदघाटनमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बम, स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, अस्पतालका चिकित्सक तथा कर्मचारी लगायतको उपस्थिति रहेको अस्पतालका प्रबन्धक कुमार अधिकारीले जानकारी दिए । 



हेल्थइरा । २०८२, २५ चैत्र बुधबार