समाचार सारांश
- बाँकेको डुडुवा गाउँपालिकाका ५९ जना स्वास्थ्यकर्मीका लागि कुपोषणको एकीकृत व्यवस्थापनसम्बन्धी तीनदिने क्षमता अभिवृद्धि तालिम दुई चरणमा सम्पन्न भएको छ।
- न्यूट्रेशन फर लाइफ परियोजनाअन्तर्गत आयोजित तालिममा कुपोषण पहिचान, परीक्षण, उपचार, एन्थ्रोपोमेट्रिक मापन, परामर्श, रेफरल तथा अभिलेखीकरणबारे सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण दिइयो।
- तालिमले स्वास्थ्यकर्मीको प्राविधिक क्षमता बढाउँदै डुडुवामा कुपोषित बालबालिकाको समयमै पहिचान, उपचार, फलोअप र गुणस्तरीय पोषण सेवा प्रवाहलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

नेपालगञ्ज : बाँकेका सञ्चालनमा रहेको न्यूट्रेशन फर लाईफ परियोजना अन्तरगत डुडुवा गाउँपालिकाका स्वास्थ्यकर्मीहरूका लागि कुपोषणको एकीकृत व्यवस्थापन सम्बन्धी तीनदिने क्षमता अभिवृद्धि तालिम दुई चरणमा सफलतापूर्वक सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लबको प्राविधिक सहयोग, हेलन केलर ईन्टरनेशनल नेपालकोे आर्थिक सहयोग तथा स्वास्थ्य कार्यालय, बाँकेको आयोजनामा सम्पन्न तालिममा पहिलो समूहको तालिम २०८३ साउन १९–२१ तथा दोस्रो समूहको तालिम २०८३ साउन २२–२४ सम्म सञ्चालन गरिएको थिया।
सो तालिममा डुडुवा गाउँपालिकाका वडा नं. १ देखि ६ सम्मका गरी जम्मा ५९ जना स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको तालिमको मुख्य उद्देश्य स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप तथा प्राविधिक क्षमता अभिवृद्धि गर्दै कुपोषणको पहिचान, परीक्षण, उपचार, परामर्श, अभिलेखीकरण तथा प्रतिवेदन प्रणालीलाई प्रभावकारी बनाउनु र समुदाय तथा स्वास्थ्य संस्थास्तरमा गुणस्तरीय पोषण सेवा प्रवाह सुनिश्चित गर्नु रहेको थियो ।
तालिमको उद्घाटन समारोहको अध्यक्षता स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख श्रीमती सुनिता पौडेलले गरेकी थिईन भने स्वास्थ्य कार्यालय, बाँकेकी पोषण फोकल पर्सन श्रीमती बसन्ती मल्लले तालिमको औपचारिक उद्घाटन गरेकाी थिईन ।
मल्लले तालिमका उद्देश्य तथा अपेक्षित उपलब्धिबारे प्रकाश पार्दै कुपोषणका समस्याको गहिरो विश्लेषण, तथ्यमा आधारित समाधान र उपयुक्त रणनीतिक कार्यान्वयनमार्फत मात्र अपेक्षित परिणाम हासिल गर्न सकिनेमा जोड दिईन ।
तालिमका सम्पूर्ण सत्रहरू अद्यावधिक कुपोषण निर्देशिका तथा वर्तमान मापदण्ड र प्रोटोकलअनुरूप सञ्चालन गरिएको थियो । सहभागीहरूको सक्रिय सहभागिता र व्यावहारिक सिकाइलाई प्राथमिकता दिँदै प्राविधिक प्रस्तुति, समूहगत छलफल, अनुभव आदानप्रदान, व्यावहारिक अभ्यास तथा प्रदर्शनात्मक विधिहरू प्रयोग गरिएको थियो ।
तालिममा ६ महिनाभन्दा कम उमेरका बालबालिका तथा ६–५९ महिनासम्मका बालबालिकामा कुपोषण व्यवस्थापन, इत्ऋ मार्फत उपचार तथा व्यवस्थापन, एन्थ्रोपोमेट्रिक मापन, ट्रायेज प्रक्रियालगायतको प्रयोग तथा सेवन विधि, कुपोषण उपचारमा प्रयोग हुने व्यवस्थापन तथा आपूर्ति प्रणालीलगायतका महत्वपूर्ण विषयमा सैद्धान्तिक तथा व्यावहारिक सत्रहरू सञ्चालन गरिएको थियो ।

स्वास्थ्य कार्यालय, बाँकेकी प्रमुख पौडेलले नेपालमा कुपोषणको वर्तमान अवस्था तथा विशेषगरी बाँके जिल्लाको अवस्थाबारे जानकारी गराउँदै उपचरात्मक खाद्य पदर्थको प्रयोग, उपचार तथा यसको प्रभावकारी व्यवस्थापन र आपूर्ति प्रणालीबारे समेत जानकारी प्रदान गरीन ।
तालिमका प्रमुख सत्रहरू हेलन केलरका फिल्ड अफिसर लीलबहादुर नेपाली र बाँके युनेस्कोकी प्रोग्राम कोर्डिनेटरदृष्टि शाहले सहजीकरण गरेका थिए । स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख पौडेल तथा पोषण फोकल पर्सन मल्लबाट समेत आवश्यक प्राविधिक सहयोग तथा मार्गदर्शन प्राप्त भएको थियो ।
तालिमले स्वास्थ्यकर्मीहरूको प्राविधिक क्षमता मात्र अभिवृद्धि नगरी कुपोषण व्यवस्थापनमा संलग्न सरोकारवालाबीच समन्वय, सहकार्य र साझा उत्तरदायित्वको भावना पनि थप सुदृढ गरेको छ । यसबाट डुडुवा गाउँपालिकाका सम्बन्धित वडा तथा समुदायमा कुपोषणका केसहरूको समयमै पहिचान, उपचार रेफरल, परामर्श तथा फलोअपलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ ।




हेल्थइरा । २०८३, २४ श्रावण आईतवार