सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका नयाँ मेसुले सम्हाले कार्यभार

खजुरा (बाँके)  : बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा नयाँ मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशप्रसाद शाहले कार्यभार सम्हालेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २० गतेमात्र अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा शाहलाई मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गरेर पठाएको थियो ।

उनले अस्पताललाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने तर्फ आफु अग्रसर रहने कुरामा जोड दिदै भने–‘ अस्पतालको हितमा काम गर्ने गरी अघि बढ्ने छु । मैले एक्लैले मात्र केही गर्न सक्दिन सबैको साथ पाएमा निश्चयनै अस्पताल राम्रो बन्ने छ ।’

उनले अस्पताललाई सेवा प्रवाह गर्दा हुनसक्ने बाध अवरोधको पहिचान गरी भएको जनशक्ति तथा स्रोत परिचालन गरी अस्पतालको आम्दानी बढाउने तर्फ अग्रसर रहने स्पष्ट पारे ।

यस अघि काजमा मेडिकल सुपरिटेन्डेन्ट रहेका डा. निरज भट्टराईको काज फिर्ता गर्दै शाहलाई नियुक्ति दिएर मन्त्रालयले नयाँ मेडिकल सुपरिटेन्डेन्ट पठाएको हो । शाहको नियुक्तिसँगै क्यान्सर अस्पतालले पहिलो पटक ११ औं तहका प्रशासक पाएको छ । सप्तरीका स्थायी बासिन्दा डा. शाह एमबिबिएस चिकित्सक सहित जनस्वास्थ्य विषयमा स्नाकोत्तर गरेका अनुभवी प्रशासक हुन् ।

सो अवसरमा डा. शाहलाई खजुरा गाउपालिका अध्यक्ष डम्बरबहादुर बिक तुफान, उपाध्यक्ष मञ्जु मल्ल, अस्पताल स्थापना गर्ने संस्था प्रखर परोपकारका अध्यक्ष महेन्द्र मल्ल, अस्पतालका चिकित्सक, नर्सिङ्ग स्टाफलगायतले स्वागत गरेका थिए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया