रुद्र सुवेदी : धेरै विरामीहरु पेटको समस्या लिएर खासगरी ग्यास्टीक भयो, ढ्याउ–ढ्याउ बढी हुने, अमिलो खट्टापानी आउने समस्या लिएर चिकित्सक कहाँ आउने गरेको पाईन्छ ।
नेपालगञ्जको भेरी अस्पताल तथा कान्ति आरोग्य अस्पतालमा कार्यरत कन्सल्टेन्ट ग्यास्ट्रो हेपाटोविलेरी तथा ल्याप्रोस्कोपिक सर्जन डा. कृष्णमोहन अधिकारीले ग्यास्टिकको समस्या लिएर आफु कहाँ पनि निक्कै विरामी आउने बताए ।
‘पेटको समस्या लिएर ग्यास्टीक भयो, ढ्याउ–ढ्याउ बढी आयो, अमिलो खट्टा पानी आउने समस्या लिएर विरामी आउनुहुन्छ । कोही कोही त मैले धेरै ग्यास्टिकको औषधि खाए भन्दै पनि आउनुहुन्छ । ग्यास्टिक गराउने किटाणुले गर्दा यस्तो हुन्छ भन्ने धेरैलाई थाहा हुँदैन’– उनले भने ।
‘एच. पाईलोरी’ भन्ने किटाणुका कारण मानव शरिरमा ग्यास्टिक हुन्छ । यदि किटाणुको कारण ग्यास्टिक भएको छ भने यसलाई निमूर्ल पार्नको लागि औषधि खानु पर्ने डा. अधिकारीको सुझाव छ ।
उनले ग्यास्टिक किटाणुको कारण हो भन्ने पत्ता लगाउनको लागि सामान्य विरामीको दिसा जाँचबाट पत्ता लाग्न सक्ने भए पनि कसैकसैलाई भने पत्ता नलाग्न सक्ने हुँदा यस्तो अवस्थामा इण्डोस्कोपी गरेर पत्ता लगाउन सकिने बताए ।
उनले भने–‘ दिसाको जाँचबाट पत्ता नलागे इण्डोस्कोपी गरेर मासु निकाली त्यसको बायाप्सी गरेर कुन लेभलको छ प्राईमरी, सेकेन्डरी, टर्सरी, वा क्रोनिक कस्तो अवस्था छ त्यो बायोप्सी रिर्पोटले मात्र पत्ता लाग्न सक्छ ।’
पेट रोग विज्ञ समेत रहेका डा. अधिकारीले बायोप्सीले शरिरमा ग्यास्टिकको किटाणु कति छ भनेर पत्ता लागेपछि किटाणुको कारण भएको ग्यास्टिकको उपचारको लागि औषधि सेवन गराईने बताए । उनले यसरी उपचार गर्दा भविश्यमा पेटको क्यान्सर हुने सम्भावना न्यून हुने र लामो समयको ग्यास्टिकको समस्या पनि निको भएर जाने बताए ।
(डा. कृष्णमोहन अधिकारी कन्सल्टेन्ट ग्यास्ट्रो हेपाटोविलेरी तथा ल्याप्रोस्कोपिक (दुरविन तथा लेजर) सर्जन हुन । पेटको रोग सम्बन्धी उपचारको विज्ञ रहेको उनी भेरी अस्पताल नेपालगञ्ज र कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा उपलब्ध छन् ।)
हेल्थइरा । २०८०, २५ चैत्र आईतवार