
नेपालगञ्ज : भेरी अस्पतालका चिकित्सकलाई धम्की दिने व्यक्ति पक्राउ परेपछि बन्द रहेको ओपिडी (बहिरङ्ग) सेवा पुनः सञ्चालन भएको छ ।
बाँके, बैजनाथ–६ की दिलसरा विकको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले अस्पतालमा विवाद गर्नुका साथै चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै चिकित्सकलाई भौतिक कारवाही गर्ने भनि धम्की दिएका थिए ।
महिलाको मृत्युको घटनामा कानुनी प्रक्रियामा जाने सहमति भए पनि मृतकका भान्जा कुशल दलामीले चिकित्सकलाई धम्क्याएपछि असुरक्षाको महसुस गर्दै चिकित्सकहरूले आन्दोलन स्वरूप ओपिडी सेवा बन्द गरेका थिए ।
बुधबार प्रहरीले दलामीलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएपछि हालका लागि आन्दोलन फिर्ता लिएर काममा फर्किएको भेरी अस्पतालका प्रमुख डा. नीराजन सुवेदीले जानकारी दिए ।
आन्दोलन फिर्ता भएसँगै अस्पताल प्रशासनले एक सूचना प्रकाशित गरी अस्पताल परिसरभित्र तस्बिर तथा भिडियो खिच्न कडाइ गरेको छ । अस्पतालको अनुमतिबिना कुनै पनि दृश्य खिच्न नपाइने व्यवस्था गरिएको छ । साथै, चिकित्सकमाथि हातपात र दुव्र्यवहारमा संलग्न अन्य व्यक्तिलाई पनि तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन अस्पतालले माग गरेको छ ।
आफूमाथि दुव्र्यवहार, हातपात भएको तथा मार्ने धम्की समेत आएको जनाउँदै भेरी अस्पताल नेपालगन्जका चिकित्सकले ओपिडी बन्द गरेर आन्दोलनमा उत्रिएपछि उपचारका लागि अस्पताल पुगेका बिरामी मर्कामा परेका थिए ।



हेल्थइरा । २०८३, १६ बैशाख बुधबार